काठमाडौँ
भाद्र १९ गते,
सुनसरीको झुम्का कारागारमा फेरि एक जना बन्दीको मृत्यु भएको छ। ज्वरोले बिरामी भएका सप्तरी राजविराज वडा नं. ८ घर भएका ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझ मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, ज्वरोका कारण जिल्ला अस्पतालमा भर्ना गरिएका यादवलाई पछि श्वासप्रश्वासमा समस्या भएपछि उपचारकै क्रममा उनको मृत्यु भएको हो । जेल प्रशासनका अनुसार, यादवलाई बुधबार साँझ ५:३० बजे अस्पताल लगिएको थियो। मृतक यादव जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
यस घटनासँगै झुम्का कारागारमा पछिल्लो एक साताको अवधिमा मृत्यु हुने कैदीबन्दीको संख्या तीन पुगेको छ, जसले कारागारभित्रको स्वास्थ्य अवस्था र व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ। झुम्का कारागारका कैदीबन्दीमध्ये १३ जना सिकिस्त उच्च ज्वरोका बिरामीलाई थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको कारागार प्रशासनले जनाएको छ। कारागारभित्र ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामीहरू बढ्दै गएकाले तत्काल स्वास्थ्य जाँच र उपचारको व्यवस्था मिलाउनुपर्ने आवश्यकता देखिएको छ ।



