काठमाडौँ । चीन सरकारको सहयोगमा निर्माण गरिएको बिपी कोइराला स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम विपरीत बस्दै आएका केही कर्मचारीले आवास खाली गर्ने निर्देशनको पालना नगरेको पाइएको छ।
अस्पताल प्रशासनले वैशाख १६ गते सूचना जारी गर्दै तोकिएका मापदण्डभन्दा बाहिर रहेका कर्मचारीलाई आवास छोड्न स्पष्ट निर्देशन दिएको भए पनि हालसम्म कुनै पनि कर्मचारीले आवास खाली नगरेको जनाएको छ।
आपत्कालीन सेवा, चिकित्सकीय उपचार तथा परिचालनमा संलग्न जनशक्तिलाई प्राथमिकताका आधारमा आवास उपलब्ध गराउनुपर्ने नीतिगत व्यवस्था अनुसार उक्त निर्देशन जारी गरिएको अस्पताल प्रशासनको भनाइ छ।
अस्पतालका भण्डार प्रमुख शिला रेग्मीका अनुसार अस्पताल परिसरभित्र सहायक, अधिकृत तथा चिकित्सक स्तरका कर्मचारीका लागि छुट्टाछुट्टै आवास संरचना निर्माण गरिएको छ। सहायक स्तरका कर्मचारीका लागि १० वटा भवनमा करिब ६० परिवार बस्न सक्ने व्यवस्था रहेको छ।
त्यसैगरी, अधिकृत स्तरका कर्मचारीका लागि ६ वटा भवन र थप १० भवनमा एकल तथा दुई परिवार बस्ने गरी आवास संरचना तयार गरिएको छ। चार परिवार क्षमता भएका छ वटा भवनमध्ये केहीमा चिनियाँ प्राविधिक तथा केहीमा अधिकृत स्तरका कर्मचारी र चिकित्सक बसोबास गर्दै आएका छन्।
चिनियाँ सहयोगमा निर्माण भएका दुई भवनमा १८ परिवार रहेको विवरण पनि प्रशासनले सार्वजनिक गरेको छ। सहायक स्तरका कर्मचारीका लागि निर्माण गरिएका ३६ कोठामा १८ परिवार बसोबास गरिरहेको जनाइएको छ।
अस्पताल प्रशासनले सेवा सुविधा व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा अस्पतालबाट करिब २५ किलोमिटर भित्र निजी आवास भएका कर्मचारीलाई आवास सुविधा नदिने नीतिगत प्रावधान रहेको स्पष्ट पार्दै सोही आधारमा आवास खाली गर्न आग्रह गरिएको जनाएको छ।



