राजविराज भाद्र ०६ गते ,
राजविराज नगरवासी पीडित संघर्ष समिती र राजविराज नगरपालिका कार्यालयबीच दुई बुंदे लिखित सहमति भएपछि भदौ ७ गतेदेखि सुरु भएको आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू हाललाई स्थगित गरिएको छ ।
संघर्ष समितिले लालपुर्जासहित आठ बुंदे माग अघि सारेका थिए । सहमतिपत्रमा, नगरपालिकाले स्थापना कालदेखि नै वसोवास, भोगचलन तथा व्यापार गर्दै आएका नागरिकहरूलाई लालपुर्जा नपाएको विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ। विगतमा ती जग्गाहरू मालपोतमा दर्ता, अदालतबाट हकहस्तान्तरण तथा बैंकहरूमा धितो राखी कर्जा लिने कार्य सम्भव भए तापनि हाल ती सेवा बन्द भएकाले नगरपालिका कार्यपालिकाको निर्णयबाट सिफारिस गर्दै सम्बन्धित मन्त्रालयमा पठाइने सहमति भएको हो ।
साथै, समस्याको समाधानका लागि संघर्ष समिती, राजनीतिक दल र सरोकारवालाहरूको संयुक्त टोली गठन गरी सक्रिय पहल गरिने उल्लेख छ। सहमति कार्यान्वयनमा पहल थालिने बताउँदै कार्यवाहक नगर प्रमुख इसरत परवीनले प्रतिबद्धता जनाएकी छन् भने संघर्ष समितीले पनि सहमति कार्यान्वयन नहुँदा पुनः आन्दोलन चर्काउने चेतावनी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले समेत यस मुद्दामा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेका ५ हजार २ सय परिवार अझै लालपुर्जा नपाएको कारण उनीहरूले पाँच महिनादेखि चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।



