काठमाडौं
भाद्र १६ गते,
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठन निर्माणका लागि आत्मसमिक्षासहित जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। सुदूरपश्चिम प्रदेश कमिटीको भर्चुअल बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे जानकारी गराएका हुन्।
उनले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भएपनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने बताए। उनले भने,‘सचिवालय र इन्चार्ज कमरेडले भौतिक रूपमा सुदूरपश्चिम आइदिन अनुरोध गर्नुभएको थियो, तर महिलाको राष्ट्रिय सम्मेलनलगायत केन्द्रीय गतिविधिका कारण म यो पटक भर्चुअलमार्फत सहभागी हुनुपर्यो। दशैंपछि मध्यपहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सकिएपछि दुई दिनको समय निकालेर म सुदूरपश्चिम प्रदेशमै आएर प्रत्यक्ष संवाद गर्नेछु।’
उनले सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताए। उनले भने, ‘अब सबै नेता–कार्यकर्ताले गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ।’
अध्यक्ष प्रचण्डले पार्टीभित्र आत्मसमीक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउँदै, हरेक कमरेडले विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।
अध्यक्ष प्रचण्डले पार्टी सरकारमा रहँदा हासिल गरिएका उपलब्धिहरू, त्यसपछिको खबरदारी अभियान तथा जनसंगठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको बताए। उनले भने, ‘हामीले सरकारमा हुँदा गरेका काम र अहिले सडकबाट उठाएका आवाजकै कारण जनभावना सकारात्मक बनेको छ। अब त्यसलाई सशक्त संगठनमार्फत संस्थागत गर्नु जरुरी छ।’
बैठकमा सहभागीले पार्टीभित्रको अन्तरसंघर्षबारे चासो व्यक्त गरेका थिए। जवाफमा प्रचण्डले भने, ‘हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो जहाँ कार्यकर्ताले आफूले देखेको कुरा खुला रूपमा राख्न सक्ने अवसर पाउँछन्। पदाधिकारी बैठकदेखि स्थायी समिति बैठकसम्म खुला छलफल हुने हाम्रो संस्कार माओवादी केन्द्रमा मात्रै छ।’
उनले संगठनलाई बलियो बनाउन आग्रह गरे। उनले भने, ‘हामी निर्वाचनमा जान्छौं, आन्दोलनमा उत्रन्छौं भन्ने कुरा तब मात्र सार्थक हुन्छ, जब संगठन बलियो हुन्छ। त्यसैले सबै कमरेडहरू आत्मसमिक्षा गर्दै जनतामाझ पुग्नुहोस्, सदस्यता विस्तार गर्नुहोस्, जनसंगठनहरूलाई सक्रिय पार्नुहोस्।’
अध्यक्ष प्रचण्डले सुदूरपश्चिमलाई राजनीतिक र सांगठनिक हिसाबले माओवादी केन्द्रको सम्भावनायुक्त प्रदेश बताउँदै, त्यहाँका नेता तथा कार्यकर्ताहरूलाई व्यवस्थित, योजनाबद्ध, केन्द्रित र परिचालित गर्ने आवश्यकता औंल्याए।
उनले भने, ‘सुदूरपश्चिम सम्भावनायुक्त प्रदेश हो – क्रान्तिको समयमा पनि र अहिले शान्तिको समयमै पनि। त्यहाँ नेता–कार्यकर्ताहरूको ठूलो जमात छ। त्यसलाई व्यवस्थित गर्ने, योजनाबद्ध गर्ने, केन्द्रित गर्ने र परिचालन गर्ने चुनौती हाम्रो अगाडि छ।’



