काठमाडौं
भाद्र २९ गते,
राजविराज नगरपालिकामा जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले गरेको तोडफोड र आगजनीबाट करिब ३० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
भदौ २४ गते आन्दोलनको दोस्रो दिन प्रदर्शन उग्र बनेपछि विभिन्न सरकारी तथा पार्टी कार्यालयहरूमा क्षति पुर्याइएको थियो, जसमा सबैभन्दा ठूलो क्षति राजविराज नगरपालिका कार्यालयमा भएको हो।
प्रमुख क्षति विवरण:
राजश्व फाँटमा करिब ११ लाख रुपैयाँ नगद र महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएको हो ।
५ वटा ट्र्याक्टर, ३ वटा टिपर, २ वटा बारुणयन्त्र, जेसिबी, एम्बुलेन्स, स्कारपियो, १५ वटा मोटरसाइकल लगायतका सवारी साधन जलेर नष्ट भएको छ।
दर्जनौं ल्यापटप र कम्प्युटरहरू, नक्सा फाँटका पुराना घरजग्गा रेकर्ड जलेर नष्ट भएको छ । दुई तल्ले भवनका १८ वटा कोठाहरू जलेर जीर्ण अवस्थामा छ।
अन्य कार्यालयहरू सघन सहरी विकास, डिभिजन वन, अदालतहरू, निर्वाचन, यातायात सेवा, विभिन्न पार्टी कार्यालयहरूमा पनि तोडफोड र आगजनी गरेका थिए ।
नगरप्रमुख इसरत परविनले जनताको करबाट बनेको संरचना जलाउनु दुर्भाग्यपूर्ण भएको बताउँदै छिटो सेवा सुचारु गर्ने प्रतिबद्धता जनाएकी छन्।
क्षतिको पूर्ण विवरण आउन बाँकी भए पनि पुनर्निर्माणमा झन्डै ३० करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।



