राजविराज
आश्विन १२ गते,
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका जनप्रतिनिधिहरुको राजिनामा माग गर्दै स्थानीयबासी गाउँपालिका अगाडि आइतबार धर्ना बसेका छन् । गाउँपालिका चलाउन पूर्ण रुपले असक्षम भएको आरोप लगाउँदै उनीहरुले जनप्रतिनिधिहरुको राजीनामा माग गर्दै धर्ना दिनुको साथै विरोध प्रदर्शन गरेका हुन् ।
गाउँपालिका स्तरीय बेथिति विसंगति विरुद्ध संघर्ष समितिको नेतृत्वमा आयोजित धर्ना तथा विरोध प्रदर्शन कार्यक्रममा सहभागीहरुले गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीसहित जनप्रतिनिधिहरुले राजिनामा दिनुपर्ने, गाउँपालिका अन्तर्गतका पदाधिकारीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, सुशासन कायम गर्नुपर्ने माग राखेका छन् ।
कार्यक्रमलाई सहभागी बेथिति विसंगति विरुद्ध संघर्ष समितिका सचिब एवम् इटहर्वा बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन कुमार चौधरीले गाउँपालिकाका जनप्रतिनिधिहरु पूर्ण रूपमा असक्षम भएको भन्दै अविलम्ब राजीनामा दिनुपर्ने माग गरे । उनले दशै जस्तो पर्वमा कर्मचारीहरुलाई तलबभत्ता खुवाउन नसकेको भन्दै आक्रोश पोखे ।
गाउँपालिकामा चरम भ्रष्टाचार भएको बताउँदै उनले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।
बेथिति विसंगति विरुद्ध संघर्ष समितिका अध्यक्ष चौधरीको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले जनप्रतिनिधिहरु असक्षम भएकोले राजिनामा माग गर्ने, सुशासन कायम गर्नुपर्ने, भ्रष्ट जनप्रतिनिधि तथा कर्मचारीहरुमाथि छानवीन गरि कारबाही गर्नुपर्ने लगायतका माग राखी आइतबारदेखि अनिश्चितकालीन धर्नासहितको सशक्त आन्दोलन गर्ने निर्णय गरेका थिए ।
धर्ना कार्यक्रममा जेनजी पुस्ता, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पूर्व जनप्रतिनिधि तथा गाउँपालिका भरीका नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, युवा विद्यार्थीहरुको सहभागीता रहेको छ ।



