महोत्तरी
कार्तिक १२ गते,
गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा मधेसमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीमा भएको बैठकमा गृह मन्त्रालयका सचिव, मधेश प्रदेशका प्रमुख सचिव, मध्यपूर्वि पृतनाका पृतनापति, गृह मन्त्रालयका सहसचिव, मधेश प्रदेशका प्रदेश सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरू सहभागी थिए । त्यस्तै, सर्लाही, सिराहा, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको उपस्थितिमा थियो ।
उक्त बैठकमा जेन–जी आन्दोलनपश्चात विकसित घटनाक्रम र हालको मधेश प्रदेशको शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाह र निर्वाचनको तयारी सम्बन्धमा मधेश प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुखहरु र सिरहा, धनुषा, महोत्तरी, सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबाट आ–आफ्नो प्रस्तुति भएको थियो ।
बैठकमा गृहमन्त्री अर्यालले सुशासन कायम गरी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
‘जेन्जी पुस्ताले उठाएका माग र आन्दोलनका कारण भाद्र २३ र २४ गते भएको आन्दोलन पश्चात् नागरीक स्तरमा उठेका आवाजलाई सम्बोधन गर्ने गरी गठन भएको यो सरकारका मुलतः ३ वटा प्राथमिकताहरु रहेका छन्,’ निर्देशनका क्रममा उनले भने,‘पहिलो प्रदर्शन पश्चात् विग्रेको शान्ति सुरक्षा र सेवा प्रवाहलाई सामान्यीकरण गर्ने, दोश्रो फागुन २१ गते स्वस्च्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्ने र तेश्रो सुशासन प्रबद्र्धन गर्ने । प्रदर्शनका क्रममा घाईते भएका व्यक्तिहरुलाई परिचयपत्र प्रदान गर्ने, राहत उपलब्ध गराउने सम्बन्धमा सरकारबाट निर्णय भएका छन् । ती निर्णयहरुलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुहोला ।’
सरकारको प्राईमरी एजेण्डा निर्वाचन भएकाले त्यसको तयारीमा लाग्न उनको निर्देशन थियो । ‘हामीले जनताले अनुभुति गर्ने गरी शान्ति सुरक्षालाई थप सुदृढ तुल्याई अहिले हामिले जनतालाई सुरक्षाको प्रत्याभूती दिदै निर्वाचनको तयारी गर्नुपर्ने छ,’ उनले भने,‘निर्वाचनको लागि वातावरण बनाउने र सम्पन्न गर्ने कार्यमा यहाँहरुको भूमिका अहम रहने छ । केन्द्रबाट गर्ने नीतिगत, कानूनी दायित्व र जिम्मेवारीलाई हामीहरुले समयमै गर्ने र गरिरहेका छौ । यसका लागि निर्वाचन कानून, कानून संशोधन, आवश्यक श्रोत साधनको ब्यवस्थापन, राजनैतिक दलहरूसँग र सरोकारवालाहरुसँग छलफल गर्ने कामहरु गरिरहेका छौ ।’
मतदान केन्द्रको पुनर्निर्माण गर्नुपर्ने, मतदान केन्द्रहरुलाई सुदढ गर्न आवश्यक पर्ने विषयहरु विश्लेषण गरेर यहाँहरुले शिघ्र प्रतिवेदन दिन उनले भनेका छन् ।
‘यो सरकार गठनको अर्को आधार र एजेण्डा सुशासन र पारदर्शिता हो । त्यसैले हिजो भन्दा आज र आज भन्दा भोलिहामीले आम नागरिक वा जनताको माग, चाहना र सोचाई अनुरुप सेवा प्रवाह गर्नुपर्नेछ,’ उनले भने,‘हामीले गर्ने अनुसन्धानहरु निष्पक्ष र तथ्यमा आधारित हुनुपर्दछ । राजश्व चुहावट नियन्त्रण, अपराध नियन्त्रण जस्ता विषयलाई गम्भिरतापूर्वक हेर्नुपर्नेछ । त्यसैले यहाँहरुले काम भैरहेको छ, गरिरहेका छौं भन्ने भन्दा पनि आगामी दिनमा हामीले यहाँहरुको कार्यसम्पादनलाई तथ्यमा आधारित भएर हेर्ने र मूल्यांकन गर्नेछौं ।’
मौसमी बर्षाको अन्यसँगै शुरु हुने चिसो मौसम र यसमा देखिने शितलहरलाई मध्यनजर गरेर तराई क्षेत्रमा हुने यसको प्रभावलाई समयमै उचित समन्वय, सरकारी निकायहरुबिचको समन्वयात्मक कार्य गरी यसबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्ने गरी योजनाबद्ध रुपमा काम गर्न उनले जोड दिएका छन्। ‘ गत विपद्मा जसरी हामीले समन्वयात्मक ढंगबाट कार्य गर्न सक्यौं, त्यसैगरी शितलहरको अवस्थाभएमा राज्यको उपस्थिति महशुस हुने गरी पूर्वतयारी गर्नुहोला,’ उनले भने ।
गृह सचिव रामेश्वर दंगालले बदलिदो परिवेशमा परिवर्तनलाई आत्मासाथ गरी सबै सुरक्षा निकायका कर्मचारीहरुमा निष्ठा, ईमान्दारीता र समन्वयात्मक रुपमा परिचालित भई काम गरी सुशासन, पारदर्शिता र जिम्मेवारीपूर्ण कार्य गर्नु पर्ने कुरामा जोड दिए।



