काठमाडौँ
माघ ११ गते,
सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रभित्र एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि स्थानीय अवस्था तनावग्रस्त बनेको छ । घटनापछि सुरक्षाकर्मीको सक्रियतामा स्थिति नियन्त्रणमा ल्याइएको छ भने उपचारमा संलग्न चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लालबन्दी नगरपालिका-१ नवलपुरमा अवस्थित एक आयुर्वेद औषधालयमा पायल्सको उपचार गराइरहेकी सोही नगरपालिकाको वडा नम्बर २, पुनर्वास क्षेत्रकी करिब १८ वर्षीया हंशु पासवानको मृत्यु भएको हो । परिवारजनका अनुसार उपचारका क्रममा चिकित्सकबाट गम्भीर लापरबाही भई गलत शल्यक्रिया गरिएको दाबी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार शल्यक्रियापछि किशोरीको स्वास्थ्य अवस्था जटिल बनेको थियो । त्यसपछि उनलाई थप उपचारका लागि हरिवनस्थित एक निजी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटनापछि आक्रोशित स्थानीय र आफन्तले टायर बालेर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । केही समय सवारी आवागमन प्रभावित भए पनि सुरक्षा निकायको पहलमा निष्पक्ष छानबिन गर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउने सहमति भएपछि यातायात पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ र उपचारमा संलग्न चिकित्सकलाई नियन्त्रणमा राखी थप प्रक्रिया अघि बढाइएको छ ।



