चितवन
फागुन १२ गते,
पृथ्वी राजमार्गको मुग्लिन-मलेखु सडकखण्डमा हुने दुर्घटनाका घाइतेको उपचार भरतपुर ल्याउन सहज र छिटो हुने देखिन्छ । नारायणगढ–-मुग्लिन सडक सहज भएकाले दूरीका हिसाबले काठमाडौँभन्दा भरतपुर छिटो ल्याउन सकिन्छ ।
भरतपुरमा रहेको संघीय अस्पताल भरतपुर अस्पतालले ट्रमा सेन्टर सञ्चालन गरेको छ । यससँगै यहाँका दुई मेडिकल कलेज र साना अस्पतालहरू समेत दुर्घटनाका घाइतेको उपचार गर्न सक्षम छन् । भरतपुर अस्पतालमा मात्र २० जना अर्थोपेडिक सर्जन र २१ जना जनरल सर्जन रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार सिटी स्क्यान, एमआरआईलगायतका उपकरणमा कमी छैन ।
यससँगै मुटु, नसालगायतका जटिल उपचार यहाँ हुन्छ । यस्तै ट्रमाको धेरै उपचार गर्ने चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले पनि दुर्घटनाका घाइतेको उपचारका लागि आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखेका छन् । समयमा उपचार हुँदा घाइते बचाउन सक्ने चिकित्सकहरू बताउँछन् ।



