मुस्ताङ
फागुन ३० गते,
माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल भवन एक वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ । नेपाल–चीन सीमावर्ती क्षेत्रका स्थानीय नागरिकलाई विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यले निर्माण गरिएको २७ कोठाको आधारभूत अस्पताल भवन प्रयोगविहीन बनेको हो ।
माथिल्लो मुस्ताङको लोमान्थाङ–४ लोमान्थाङस्थित धुराङ भन्ने स्थानमा एक वर्षअघि सम्पन्न भएको पाँच शैय्याको आधारभूत अस्पताल भवन जनशक्ति तथा आवश्यक उपकरणको व्यवस्थापन हुन नसक्दा प्रयोगविहीन बनेको बताइएको छ । संघीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लोमान्थाङ गाउँपालिकाको लागत साझेदारीमा दुई तले आधारभूत स्वास्थ्य सेवा अस्पताल भवन निर्माण गरिएको थियो ।
आव २०७८/०७९ मा त्यहाँ आधारभूत अस्पताल भवन निर्माण सुरु गरिएकोमा गतवर्षको फागुन महिनामा निर्माण सम्पन्न भएको थियो । दुई वर्षको सम्झौता अवधि रहेको उक्त आधारभूत अस्पताल भवन निर्माण चलिरहँदा कोभिड माहामारीका कारण एक वर्षपछि ढिलो गरी अस्पताल भवन निर्माण सम्पन्न गरिएको थियो ।



