काठमाडौँ
चैत्र ८ गते,
धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन थालेपछि स्थानीयवासीलाई सहज भएको छ ।
आर्थिक वर्ष २०८१/८२ देखि चालु आवको पुस मसान्तसम्म अस्पतालको बाहिरङ्ग सेवा ११ हजार ५९८ र अन्तरंग सेवातर्फ तीन हजार ६६ बिरामीले सेवा लिएका छन् । सोही अवधिमा ११५ शल्यक्रिया गरिएका थिए ।
अस्पतालद्वारा हालै आयोजित सामाजिक जवाफदेहिता सम्बन्धी कार्यक्रममा दिइएको जानकारी अनुसार १७ शय्याको सो अस्पतालले सामाजिक सेवाअन्तर्गत १८५ प्रकारका औषधि वितरण गरिरहेको छ । त्यस्तै, ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’अन्तर्गत ३० वर्षभन्दा माथिका ६६ नागरिकलाई नि:शुल्क उपचार सेवा प्रदान गरिएको छ ।
विसं २०२१ मा ‘हेल्थपोस्ट’बाट सुरुआत भएको स्वास्थ्य सेवा विस्तारका क्रममा विसं २०४२ मा अस्पताल बनाइएको थियो । तत्कालीन समयमा डा. विजय खनालले अस्पतालमा पहिलो सेवा प्रदान गरेको जनाइएको छ ।
कार्यक्रमका सहभागीहरूले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन विभिन्न सुझाव दिँदै तत्काल नयाँ एम्बुलेन्स उपलब्ध गराउन माग गरेका थिए । सो अस्पतालाई निक साइमन संस्थाले चिकित्सकीय एव अन्य सहयोग गर्दै आएको छ । अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, घाउ–खटिरालगायतका शल्यक्रिया सेवा नियमित रूपमा सञ्चालनमा छन् । साथै भिडियो एक्स–रे, दन्त सेवा र प्रयोगशाला सेवा पनि विस्तार गरिएको छ ।



