काठमाडौँ
चैत्र ८ गते,
नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व संकलन गरेको छ ।
चालु आव २०८२/ ८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकामा फागुन मसान्तसम्म आठ महिनामा मात्र रु १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार अर्थात् लक्ष्यको ५१.९७ प्रतिशत असुली भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले जानकारी दिए ।
उनका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका चार महिनामा ४८ प्रतिशत राजस्व संकलन गर्नुपर्ने चुनौती छ । भन्सार कार्यालयको मासिक लक्ष्यअुनसार हालसम्म कुनै पनि महिनामा राजस्व संकलन हुनसकेको छैन ।
चालु आवको साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशतमात्र राजस्व असुली भएको छ । गत आव २०८१/८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व संकलन गरेको थियो भने त्यसको अघिल्लो आव २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व संकलन गरेको थियो ।



