काठमाडौँ
चैत्र ९ गते,
सरकारले मंगलबार विशेष कार्यक्रमको आयोजनागरी विश्व क्षयरोग दिवस मनाउने भएको छ । सोमबार भक्तपुरको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा पत्रकारको सम्मेलन आयोजनागरी कार्यक्रमबारे जानकारी गराइएको हो ।
राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागेको केन्द्रका उपसचिव कमलप्रसाद तिमल्सेनाले जानकारी दिए । उनको अनुसार संघ, प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।
केन्द्रका अनुसार दिवसका अवसरमा र्याली, अन्तरक्रिया, सचेतनामूलक अभियान तथा मिडिया कार्यक्रमहरू सञ्चालन भएसकेका छन् । केन्द्रले क्षयरोग अन्त्यका लागि सबै सरोकारवालालाई सहकार्य गर्न आह्वान गरेको छ ।
नेपालमा क्षयरोग अझै पनि प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा नेपालमा अनुमानित ६७ हजार नयाँ क्षयरोगका बिरामी रहेका छन् । साथै, हरेक वर्ष करिब १६ हजार मानिसको क्षयरोगका कारण मृत्यु हुने गरेको अनुमान छ ।



