काठमाडौँ
चैत्र ९ गते,
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले करदाता सेवा सुरु गरेको छ। यससँगै अब स्थानीयहरूले गाउँपालिकाबाटै करदाता सेवासम्बन्धी कार्यहरू पाउने भएका छन्।
हेलम्बु गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलिखेलबिच सोमबार करदाता सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) सम्पन्न भएको हो। एमओयूपछि नेपाल सरकारको निर्णयअनुसार अब गाउँपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) जारी, मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता सिफारिस, कर चुक्ता प्रमाणपत्रलगायतका सेवा प्रदान हुनेछन्।
अब स्थानीय करदाताले सेवा लिन जिल्लाबाहिर जानुपर्ने झन्झट हट्ने विश्वास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेनीबहादुर मोक्तानले व्यक्त गरे। करदातासम्बन्धी सेवा प्रवाहलाई प्रभावकारी बनाउन दुवै निकायबिच आवश्यक प्राविधिक समन्वय र सहकार्य हुने एमओयूमा छ।
पालिकाबाटै करदाता सेवा सुरु गर्नेमा हेलम्बु गाउँपालिका बागमती प्रदेशको पहिलो र नेपालको ५०औँ गाउँपालिका हो।



