मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पाँच अर्ब ७३ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आवको ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालयले सात महिनाको अवधिमा उक्त राजस्व संकलन गरेको हो ।
उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट सात महिनाको अवधिमा रु १२ अर्ब २२ करोड ७६ लाख बराबरको मालवस्तु चीनतर्फबाट आयात भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए । यसैगरी नेपालबाट रु २० करोड ५५ लाख बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको उनले बताए ।
गत साउन र भदौमा रसुवागढी र तातोपानी भन्सार कार्यालय बाढीपहिरोका कारण बन्द हुँदा यहाँको कोरला नाकाबाट आयात/निर्यातमा उभार आए पनि पछिल्लो समय यहाँको भन्सारबाट आयात/निर्यातको परिमाण घटेको भन्सार प्रमुख खड्काले उल्लेख गरे ।
यहाँको कोरलास्थित मुस्ताङ भन्सार कार्यालयबाट सात महिनाको अवधिमा कोरला नाका हुँदै चीनबाट आयात गरिएका कुल दुई हजार ३४७ वटा विद्युतीय इलेक्ट्रोनिक (इभी) सवारीसाधनको भन्सार जाँचपास भएको छ ।



