काठमाडौँ । गुनासो लिने मात्रै होइन समाधान पनि गर्ने उद्देश्यका साथ ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हटलाइन नम्बर ११५१ लाई थप प्रभावकारी बनाएको छ ।
मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास सुरु गरेको र त्यसलाई थप प्रभावकारी बनाएको जनाएको छ । ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले पदभार सम्हाले लगत्तै ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ शैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरू थप सक्रिय देखिएका छन् ।
मन्त्री श्रेष्ठको निर्देशनपछि विद्युत् सेवासँग सम्बन्धित ‘हटलाइन नम्बर’ ११५१ लाई थप प्रभावकारी बनाइएको छ । चौबिसै घण्टा सञ्चालनमा रहने उक्त हटलाइन अब केवल गुनासो टिप्ने माध्यममा सीमित छैन, बरु समस्या समाधानको प्रत्यक्ष संयन्त्रका रूपमा विकास गरिएको मन्त्रालयले जनाएको छ ।
सेवाग्राहीका ‘फोन’, ‘ह्वाट्सएप’, ‘इमेल’देखि ‘हेलो’ सरकारसम्म आएका गुनासोलाई तत्काल सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्ने प्रणालीलाई परिणाममुखी बनाइएको छ ।
मन्त्री श्रेष्ठको सचिवालयले यसलाई नियमित प्रशासनिक प्रक्रियाभन्दा उत्तरदायी एवम् जबाफदेही ढंगले अघि बढाएको छ । मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जन र स्वकीय सचिव राजा शाक्य स्वयम् जनसरोकारका विषय सम्बोधन गर्न सम्बन्धित निकायसँगको समन्वयमा खटिँदै आएका छन् ।



