काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित भूमि प्रशासन कार्यालयले लेखापढी व्यवसायीलाई तोकिएको पोशाक र अदालतबाट जारी परिचयपत्र अनिवार्य गरेको छ । तोकिएको पोशाक तथा परिचयपत्रबिनै कार्यालय प्रवेश गर्न नदिइने चेतावनीसमेत कार्यालयले दिएको छ ।
भूमि प्रशासन कार्यालय नेपालगञ्जले सूचना जारी गर्दै लेखापढी व्यवसायी सम्बन्धी नियमावली, २०५९ (संशोधनसहित) अनुसार लेखापढी व्यवसायीले अदालतबाट जारी गरिएको परिचयपत्र लिनुका साथै तोकिएको पोशाक अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था रहेको जनाएको हो ।
सूचनाअनुसार, प्रमाणपत्र लिएको पाँच वर्ष पूरा भएपछि लेखापढी व्यवसायीले प्रत्येक छ महिनामा प्रमाणपत्र नवीकरण गराउनुपर्ने व्यवस्था रहेको छ । यस्तै, नियमावलीको अनुसूची-५ मा लेखापढी व्यवसायीको पोशाकसमेत निर्धारण गरिएको उल्लेख छ ।
पुरुष लेखापढी व्यवसायीका लागि बैजनी रङको कोट वा स्कटकोट, बैजनी रङको पाइन्ट र निलो-बैजनी रङको सर्ट तोकिएको छ । महिला लेखापढी व्यवसायीका हकमा बैजनी रङको कोट-पाइन्ट, निलो-बैजनी रङको सर्ट वा सोही रङको कुर्ती, सुरुवाल वा सारी-ब्लाउज लगाउनुपर्ने व्यवस्था गरिएको छ ।
कार्यालयले अदालतबाट जारी भएको परिचयपत्र लिएर र तोकिएको पोशाकमा मात्रै लेखापढी व्यवसायीले कार्यालय प्रवेश गर्न पाउने स्पष्ट पारेको छ ।
भूमि प्रशासन कार्यालयका अनुसार २०८३ जेठ १५ गतेदेखि यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । सूचनामा तोकिएको पोशाक र परिचयपत्र नलगाई आएमा कार्यालय प्रवेशमा रोक लगाइने उल्लेख गरिएको छ ।
कार्यालयले सम्बन्धित सबै सरोकारवालालाई व्यवस्था कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ ।




