काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्प्रति गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाएको छ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा विधेयक प्रस्तुत गर्ने कार्यक्रमका बीच प्रधानमन्त्री स्वयं उपस्थित नभएको विषयलाई लिएर विपक्षी दलहरूले असन्तुष्टि जनाएका हुन्।
सोही क्रममा एमाले सांसद ऐनबहादुर महरले संविधानले तोकेको संसद्प्रतिको उत्तरदायित्व प्रधानमन्त्रीले पालना नगरेको टिप्पणी गरे। उनका अनुसार सदनलाई छल्ने, बेवास्ता गर्ने र नागरिकको अभिव्यक्तिलाई अवमूल्यन गर्ने प्रवृत्ति देखिएको छ।
महरले संविधानको धारा ७६ को उपधाराले सरकारलाई संसद्प्रति उत्तरदायी रहनुपर्ने स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै त्यसको पालना नभएको दाबी गरे। उनले प्रतिनिधि सभा नियमावलीका प्रावधानहरू समेत बेवास्ता गरिएको आरोप लगाए।
उनका अनुसार यस्तो अभ्यासले कार्यकारी भूमिकालाई बढी स्वेच्छाचारी दिशातर्फ लैजान सक्ने जोखिम रहेको छ।



