काठमाडौँ । रुपन्देहीमा नक्कली नोट छाप्ने प्रिन्टर र कम्प्युटरसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दका अनुसार इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलिले नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो ।
रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिकाको इलाकामा नक्कली नोटको कारोवार हुने गरेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रारम्भिक अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरुको पहिचान एवं खोजतलास गर्ने क्रममा प्रहरीले नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, कैँची तथा प्रिन्ट हुन बाँकी, प्रिन्ट गरिएका अवस्थामा रहेका नक्कली नोट समेतका सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने अभियुक्तहरुमा भारत ककरहवा सिद्धार्थनगर नौगढ उत्तर प्रदेश बस्ने ३८ वर्षका अव्दुल हमिद र रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका वडा नं. ११ मसिना बस्ने २२ वर्षका बिक्की भन्ने अनिल पासी रहेका छन् ।
सबै नोटमा ङ २५ ०२४९१२ नं. रहेको नक्कली नेपाली पाँच सय दरको नोट ३० थान, नेपाली रु. १००, ५०० र १००० दरको प्रिन्ट भई कटिङ नगरेको अवस्थामा रहेका नोट ७ थान बरामद गरेको छ । त्यस्तै नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको सिपियु एक थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको प्रिन्टर एक थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको मोनिटर एक थान, प्रिन्ट पेपर रिम चार थान, मोवाईल दुई थान र एउटा कैची पनि बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीले सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ।



