चाडपर्व सकिएलगत्तै सरकार ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण : बाबुराम भट्टराई

Janta Khabar Media House १० कात्तिक २०८३

चाडपर्व सकिएलगत्तै सरकार ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार परिवर्तन गर्ने र ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण तथा चिन्ताजनक भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्व सकिएलगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने र सरकार परिवर्तन गर्ने चर्चा हुन थालेको प्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले उन्नत बहुदलीय लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीच निरन्तर प्रतिस्पर्धा तथा सहकार्य हुनुका साथै सदन र सडकमा आलोचना–प्रत्यालोचना हुनु स्वाभाविक र आवश्यक रहेको बताएका छन्।

'प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने, सरकार परिवर्तन गर्ने आदि चर्चा चल्न थाल्नु विडम्बनापूर्ण र चिन्ताजनक छ,' उनले भनेका छन्, 'उन्नत बहुदलीय लोकतन्त्रमा सत्ताधारी र प्रतिपक्षी दलहरू हुन्छन् र उनीहरूवीच निरन्तर प्रतिष्पर्धा र सहकार्य हुनु, सदन र सडकमा आलोचना-प्रत्यालोचना हुनु बिल्कुल स्वाभाविक र आवश्यक कुरा हो।'

तर, निर्वाचनपछि पनि सरकार परिवर्तन वा ढाल्ने खेल दोहोरिरहनु देशलाई अनिश्चिततातर्फ धकेल्ने उनको भनाइ छ। विगतमा पटकपटक सरकार परिवर्तन हुँदा त्यसका दुष्परिणाम देखिसकिएको उल्लेख गर्दै उनले यस्तो प्रवृत्तिले अर्थतन्त्र कमजोर बनाउने, युवालाई विदेशिन बाध्य पार्ने र देशलाई भूराजनीतिक जोखिममा पार्ने चेतावनी दिएका छन्।

भट्टराईले देश र जनताप्रति जिम्मेवार सबै नागरिकलाई गम्भीर बन्न आग्रह गरेका छन्। सरकार र राज्यका विभिन्न निकायमा रहेकाहरूलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिँदै उनले विपत्तिमा परेका, ऐतिहासिक रूपमा वञ्चितीकरणमा परेका तथा गरिब र निमुखा जनताको आवाज सत्तामा रहेकाहरूले सुन्नुपर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै