जलन उपचारका लागि काठमाडौँ महानगरले कीर्तिपुर अस्पताललाई २ करोड दिने
Janta Khabar Media House२५ भदौ २०८३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जलनका बिरामीको उपचार तथा आवश्यक उपकरण व्यवस्थापनका लागि कीर्तिपुर अस्पताललाई २ करोड रुपैयाँ उपलब्ध गराएको छ। महानगरपालिकाले उपलब्ध गराएको रकममध्ये १ करोड रुपैयाँ ‘जलन उपचार कोष’मा राखिनेछ भने बाँकी १ करोड रुपैयाँ उपचारमा आवश्यक औजार तथा उपकरण खरिदमा खर्च गरिएको छ।
महानगरपालिकाले कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रस्ट)सँग सम्झौता गर्दै लक्षित वर्गका जलनका बिरामीलाई प्रतिव्यक्ति २ लाख रुपैयाँसम्म निःशुल्क उपचार उपलब्ध गराउने व्यवस्था गरेको हो।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहवरमा महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी तथा अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
महानगरका अनुसार ‘जलन उपचार कोष’मा राखिएको १ करोड रुपैयाँबाट लक्षित वर्गका बिरामीको उपचार खर्च व्यहोर्नेछ। चालु आर्थिक वर्षमा कोषको रकम खर्च हुन नसके आगामी वर्षहरूमा समेत जलनका बिरामीको उपचारमै प्रयोग गरिने व्यवस्था गरिएको छ।
अति विपन्न, हिंसापीडित तथा बेवारिसे जलनका बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा निःशुल्क उपचार उपलब्ध हुनेछ। काठमाडौँ महानगरपालिका क्षेत्रका स्थायी बासिन्दा, कानुनबमोजिम बसाइसराइ गरी आएका व्यक्ति, महानगरका जनप्रतिनिधि, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले पनि यो सेवा पाउनेछन्।
महानगरपालिकाका अनुसार उपचार खर्च प्रतिव्यक्ति अधिकतम २ लाख रुपैयाँसम्म कोषबाट व्यहोर्नेछ। तर अस्पतालको क्याबिन, ईएचएस वा कस्मेटिक उपचार रोज्ने बिरामीको खर्च भने कोषबाट व्यहोर्ने छैन।