‘देश थप अस्थिरता थेग्न सक्ने अवस्थामा छैन’ : पूर्वप्रधानमन्त्री डा. भट्टराई

Janta Khabar Media House १५ कात्तिक २०८३

‘देश थप अस्थिरता थेग्न सक्ने अवस्थामा छैन’ : पूर्वप्रधानमन्त्री डा. भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले राजनीतिक दलहरूभित्र बढ्दो अन्तरसंघर्ष र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गरेका हुन्।

उनले सत्तारूढ तथा प्रतिपक्षी दलहरूभित्र चर्किँदो अन्तरसंघर्षसँगै न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख अंगहरूको अवस्थालाई चिन्ताजनक रूपमा चित्रण गरेका छन्। बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा यस्ता समस्याले मुलुकलाई थप संकटतर्फ धकेल्न सक्ने उनको भनाइ छ।

भट्टराईले अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, प्राकृतिक प्रकोपको बढ्दो भार र युवाहरूको विदेश पलायनलाई पनि मुलुकका गम्भीर चुनौतीका रूपमा औँल्याएका छन्। सार्वजनिक सञ्चार क्षेत्र तथा नागरिक तहमा बढ्दो निराशाले समेत संकटको संकेत गरिरहेको उनको विश्लेषण छ।

राजनीतिक अस्थिरता र राज्यका निकायहरूको अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनले अब मुलुकले थप उथलपुथल थेग्न नसक्ने बताएका छन्।

‘अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न सक्दै सक्दैन,’ भट्टराईले लेखेका छन्।

उनले विद्यमान परिस्थितिप्रति सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्दै आ-आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

‘सबै आ-आफ्नो क्षेत्रबाट गम्भीर बनौँ। सक्छौँ, सकारात्मक योगदान गरौँ ! सक्दैनौँ, नकारात्मक काम नगरौँ,’ उनले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै