‘भदौ २४ को आगजनी र विध्वंस सुनियोजित योजनाको परिणाम’ : एमाले

Janta Khabar Media House २१ भदौ २०८३

‘भदौ २४ को आगजनी र विध्वंस सुनियोजित योजनाको परिणाम’ : एमाले
काठमाडौँ । नेकपा (एमाले)ले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र विध्वंस अघिल्लो दिन नवयुवाको प्रदर्शनमा भएको मानवीय क्षतिबाट उत्पन्न आवेग नभई सुनियोजित योजनाको परिणाम भएको दाबी गरेको छ। भदौ २४ का घटनाको एक वर्ष पूरा भएको अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको प्रेस वक्तव्यमा भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न आपराधिक समूहले घुसपैठ गरी हिंसात्मक बनाएको दाबी गरिएको छ। एमालेले त्यसक्रममा १९ जना युवाको मृत्यु भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। एमालेका अनुसार प्रदर्शनमा घुसपैठपछि आयोजकहरूले कार्यक्रम स्थगित गरे पनि ‘षड्यन्त्रकारी समूह’ले युवाहरूलाई मानव ढाल बनाएर संसद् भवनमा आक्रमण गर्न दुरुत्साहन गरेका थिए। भीड नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट १९ युवाको मृत्यु भएको एमालेको दाबी छ। वक्तव्यमा भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय, शहीद तथा अग्रजका स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई नेपालको इतिहासकै ‘कालो अध्याय’ भनिएको छ। एमालेले प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि समेत भदौ २४ का घटनाहरू भएको भन्दै उक्त दिनको विध्वंस अघिल्लो दिनको घटनाबाट सिर्जित आक्रोश मात्र नभएको निष्कर्ष निकालेको छ। पार्टीले यसलाई राष्ट्रियता, लोकतन्त्र र संविधानको ‘प्रगतिशील कोर्स’ उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वमा धकेल्ने योजनाको मूर्त रूप भएको आरोप लगाएको छ। एमालेले भदौ २३ गते शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार छन् भन्ने विषयमा गहिरो छानबिन हुनुपर्ने माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै