‘हात हल्लाएर ट्राफिक व्यवस्थापन गर्ने अवस्था अन्त्य गर्नुपर्छ’ : आईजीपी कार्की
Janta Khabar Media House२५ भदौ २०८३
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजधानीको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउन एआई-सक्षम सीसीटीभीसहित आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताएका छन्।
काठमाडौँ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवमा आइतबार बोल्दै आईजीपी कार्कीले सवारीसाधनको बीचमा जोखिम मोलेर ट्राफिक प्रहरी उभिएर हात हल्लाउँदै सवारी व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका हुन्।
उनले ट्राफिक व्यवस्थापनलाई प्रविधिमा आधारित बनाउँदै एआई-सक्षम सीसीटीभी, व्यवस्थित बस स्टप, बसपार्क तथा पार्किङ स्टेसन निर्माण र वैज्ञानिक पार्किङ प्रणाली विकासमा जोड दिनुपर्ने बताए।
कार्कीले ट्राफिक व्यवस्थापनसँगै फुटपाथ व्यवस्थापन र आपत्कालीन उद्धार तथा प्रतिकार्य प्रणालीलाई पनि थप व्यवस्थित बनाउन काठमाडौँ महानगरपालिका र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताए।
उनका अनुसार राजधानीमा बढ्दो जनसंख्या, तीव्र सहरीकरण र सवारी चापसँगै सार्वजनिक स्थान व्यवस्थापन, फोहोर मैला, वातावरणीय चुनौती, सम्पदा संरक्षण तथा विपद् व्यवस्थापनका विषय पनि थप जटिल बन्दै गएका छन्। यस्ता चुनौती समाधान गर्न स्थानीय तह र नेपाल प्रहरीबीच निरन्तर समन्वय आवश्यक रहेको उनको भनाइ छ।