विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा बजेट अभाव हुन नदिने मन्त्री लम्सालको प्रतिबद्धता

Janta Khabar Media House ६ कात्तिक २०८३

विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा बजेट अभाव हुन नदिने मन्त्री लम्सालको प्रतिबद्धता

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गरेका छन् ।

गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुँदै मुस्ताङको सिमानामा रहेको रुप्से झरनासम्म पुगेका मन्त्री लम्सालले कालीगण्डकीको बाढीबाट प्रभावित मालढुङ्गा पुल, पर्वतको फर्से, म्याग्दीको बेनी खानेपानी योजना, सिंगा तातोपानी कुण्ड र बेनी-दरवाङ-ढोरपाटन सडकअन्तर्गत फापरखेतको पहिरोको पनि निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि रुप्सेमा सडक विभाग, कालीगण्डकी कोरिडोर योजनाका अधिकारी र म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलगायत सुरक्षा अधिकारीहरूसँग मन्त्री लम्सालले विपद्पछिको पुनर्निर्माणमा बजेटको कमी हुन नदिने बताए ।

“कालीगण्डकी, भोटेकोशी र बुढीगण्डकीको बाढी, पहिरोलगायत विपद्बाट क्षति पुगेका देशभरका भौतिक संरचनाको पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ, बजेटको अभाव हुँदैन,” मन्त्री लम्सालले भने, “जतिसक्दो छिटो सर्वेक्षण र लागत अनुमानको काम सकेर बजेट माग गर्नुहोस्, पुनर्निर्माणमा ढिलाइ हुन नदिन सरकार सचेत छ ।”

पुनर्निर्माणका लागि आवश्यक पर्ने नदीजन्य स्रोतको व्यवस्थापनमा सहजीकरण गर्न मन्त्री लम्सालले स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । उनलाई कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले बाढीपहिरोका कारण करिब ९० करोड रुपैयाँ बराबरको क्षति पुगेको र पुनर्निर्माणका लागि करिब चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको जानकारी गराएका थिए ।

मन्त्री लम्साललाई बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरी र उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आयोजना पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन अनुरोध गरेका थिए । यसैगरी, बेनी नगरपालिका-४ सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बाढीका कारण क्षतिग्रस्त कुण्डको पुनर्निर्माणका लागि बजेट माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0