काठमाडौं । गुगलले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडल ‘जेमिनाइ ४ कार्बन’ सार्वजनिक गरेको छ । सफ्टवेयरमा रहेका सुरक्षा कमजोरी पत्ता लगाउने, ती कमजोरीको परीक्षण गर्ने र समाधान विकास गर्ने क्षमतामा सुधार गरिएको यो मोडललाई साइबर सुरक्षा परीक्षणमा केन्द्रित गरिएको कम्पनीले जनाएको छ ।
गुगलको ब्लग पोस्टअनुसार कार्बनले आर्टिफिसियल एनालाइसिस इन्टेलिजेन्स इन्डेक्समा ५९ अंकसहित पहिलो स्थान हासिल गरेको छ । कम्पनीले यसलाई सुरुमा साइबर सुरक्षा क्षेत्रमा काम गर्ने सीमित विज्ञ तथा संस्थालाई उपलब्ध गराउने जनाएको छ । त्यसपछि ‘फेयरविन्ड प्रोग्राम’ मार्फत विश्वसनीय साझेदारलाई पहुँच दिइनेछ ।
गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले सामाजिक सञ्जाल एक्समार्फत नयाँ मोडल सार्वजनिक भएको जानकारी दिएका छन् । उनले गुगलले आफ्ना एआई मोडल नियमित रूपमा सार्वजनिक गर्ने योजनाअनुसार जेमिनाइ ४ कार्बन ल्याइएको बताएका छन् ।
जेमिनाइ ४ आर्गन सार्वजनिक भएको दुई सातापछि आएको कार्बनलाई लामो समयसम्म चल्ने जटिल इन्जिनियरिङ कार्य सम्पन्न गर्न सक्षम बनाइएको गुगल डीपमाइन्डले जनाएको छ । यसले ठूला सफ्टवेयर कोड संरचना र तल्लो तहका कम्प्युटर प्रणालीमा रहेका त्रुटिको मूल कारण पत्ता लगाउने तथा तिनको समाधान गर्ने काम गर्न सक्छ ।
सुरक्षा कमजोरी पत्ता लगाउन ८८.२ प्रतिशत सफलता
गुगलका अनुसार सफ्टवेयर सुरक्षा कमजोरी पहिचान गर्ने एसईसी–बेन्च प्रो परीक्षणमा कार्बनले ८८.२ प्रतिशत अंक प्राप्त गरेको छ । त्यस्तै, सुरक्षा कमजोरीको दुरुपयोग सम्भव छ वा छैन भनेर परीक्षण गर्ने एक्सप्लोइटजिममा ५४.८ प्रतिशत र कमजोरी समाधान गर्ने क्षमता मापन गर्ने सीडब्ल्यूई–बेन्चमा ७१ प्रतिशत अंक प्राप्त गरेको कम्पनीले जनाएको छ ।
आन्तरिक परीक्षणमा सुरक्षित कोड निर्माण गर्ने क्षमतामा कार्बनले आर्गनको तुलनामा दोब्बरभन्दा बढी सफलता हासिल गरेको गुगलको दाबी छ । गुगलको क्रोम टोलीका अनुसार उच्च गुणस्तरका सफ्टवेयर सुधारसम्बन्धी कोड तयार गर्ने परीक्षणमा कार्बनले अर्को एआई प्रयोगशालाको अग्रणी मोडलको तुलनामा १० गुणाभन्दा बढी राम्रो प्रदर्शन गरेको छ ।
एआई मोडलहरू थप क्षमतावान् हुँदै जाँदा तिनको विश्वसनीयता र सुरक्षा सुनिश्चित गर्न पनि ध्यान दिइएको कम्पनीले जनाएको छ । आन्तरिक परीक्षणमा आर्गनको तुलनामा प्रमाणविहीन दाबी करिब आधाले घटेको र कोडिङ वातावरणमा गम्भीर प्रकृतिका सुरक्षा तथा व्यवहारगत जोखिमसम्बन्धी चेतावनी झन्डै ८० प्रतिशतले घटेको गुगलको भनाइ छ ।