पीडितकेन्द्रित पुनर्निर्माण’ मा ध्यान दिन सरकारलाई अर्जुननरसिंह केसीको आग्रह
Janta Khabar Media House१८ भदौ २०८३
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले भोटेकोशीबाढीबाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई राहत र पुनर्निर्माणमा प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।
आइतबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले विपद् व्यवस्थापनमा सरकारको कार्यशैली र समन्वयको अभावप्रति टिप्पणी गरेका हुन् ।
नेता केसीले नुवाकोट, रसुवा र धादिङ लगायतका क्षेत्रमा भएको विनाशलाई ‘हिमाली सुनामी’को संज्ञा दिए । विपद्का समयमा पूर्वसूचना प्रणाली प्रभावकारी हुन नसकेकोमा गुनासो गर्दै नेता केसीले सरकारमा ‘नार्सिसिस्ट साइकोलोजी’ (अहंकारी प्रवृत्ति) हाबी भएको आरोप लगाए । नेपालका २ हजार ३ सय तालतलैयामध्ये २१ वटा हिमताल अत्यन्त जोखिमपूर्ण रहेको र तीमध्ये ४-५ वटा विस्फोटको उच्च खतरामा रहेको बताए ।
यसबारे आफूले डेढ महिनाअघि नै संसदमा ध्यानाकर्षण गराएको स्मरण गराउनु भयो । राज्यले यस्ता जोखिमहरूको वैज्ञानिक आकलन गरी पूर्वतयारी गर्न नसकेको उनको भनाइ छ ।
नेता केसीले विपद् व्यवस्थापनका लागि ‘रेस्क्यु’ (उद्धार), ‘रिलिफ’ (राहत) र ‘रिह्याबिलिटेसन’ (पुनर्स्थापना) गरी तीन वटा पक्षमा केन्द्रित हुनुपर्नेमा जोड दिए । विशेष गरी रसुवा र नुवाकोटका धेरै क्षेत्रहरू सम्पर्कविहीन रहेको उल्लेख गर्दै उनले स्थानीय तह, समुदाय र सरकारबीच एकीकृत समन्वयको खाँचो औँल्याए । उनले आगामी दिनमा ‘स्टेकहोल्डर भिक्टिम ड्रिभन’ (पीडितकेन्द्रित) पुनर्निर्माणको मोडल अपनाउन पार्टी र सरकारलाई सुझाव दिए ।