बाढीपछिको उद्धार र राहतबारे नेपाल-अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन संवाद

Janta Khabar Media House १६ भदौ २०८३

बाढीपछिको उद्धार र राहतबारे नेपाल-अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन संवाद
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच नेपालमा उत्पन्न विपद्को अवस्था तथा उद्धार, राहत र पुन:स्थापनाका विषयमा टेलिफोनमार्फत छलफल भएको छ। बिहान १० बजे भएको संवादका क्रममा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको समयमा अष्ट्रेलियाली समकक्षीसँग भएको कुराकानीलाई महत्वपूर्ण रहेको बताएका छन्। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति अष्ट्रेलिया सरकार र त्यहाँका नागरिकले व्यक्त गरेको ऐक्यबद्धताका लागि प्रधानमन्त्री शाहले धन्यवाद दिएका छन्। नेपालमा जारी उद्धार तथा राहत प्रयासमा अष्ट्रेलियाबाट प्राप्त सहयोगप्रति समेत उनले प्रशंसा व्यक्त गरेका छन्। विशेषज्ञसहित ड्रोन सञ्चालन गर्ने टोली परिचालन, आवश्यक राहत सामग्री उपलब्ध गराउनुका साथै आर्थिक सहयोग गरेकोमा प्रधानमन्त्री शाहले अष्ट्रेलिया सरकारप्रति आभार प्रकट गरेका हुन्। बाढीका कारण सम्पर्कविहीन भएका अष्ट्रेलियाली नागरिकको खोजीलाई नेपाल सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको जानकारीसमेत प्रधानमन्त्री शाहले संवादका क्रममा दिएका छन्। नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई स्मरण गर्दै उनले विपद्को वर्तमान अवस्थामा खोज तथा उद्धार, राहत वितरण र पुन:स्थापनाका काममा अष्ट्रेलियासँग समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। वार्ताका क्रममा अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले बाढीबाट नेपालमा उत्पन्न परिस्थितिप्रति चासो व्यक्त गर्दै त्यसबाट पुगेको क्षतिबारे चिन्ता प्रकट गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0