पूर्वाधार विकासमन्त्री सुनील लम्सालले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्जाल सञ्चालनमा आउने बताएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् ।
बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन, तुइन र झोलुंगे पुल जडानलाई तीव्रता दिइरहेको उनले बताए । साथै, त्यो सकिएलगत्तै पक्की सडक र पुलको निर्माण गरिने उनको भनाइ छ । मन्त्री लम्सालले विभिन्न विषयगत आठवटा कार्यदल निर्माण गरी सडक र पुल निर्माणलाई तीव्रता दिइरहेको जानकारी दिए । उनले यो काममा दोहोरोपना हुन नदिई आफूहरूलाई प्रत्यक्ष रूपमा सघाउन स्थानीय जनप्रतिनिधिसँग आग्रहसमेत गरे ।
उनले प्रधानमन्त्री शाहसँग छलफल गर्न आएकै वेलामा काठमाडौंमै रहेर आफ्नो मन्त्रालयमातहतका विभिन्न निकायका प्रमुखसँग प्रत्यक्ष छलफलमा जोडिएर आ–आफ्ना प्रभावित क्षेत्रमा क्षतिग्रस्त पूर्वाधारको विवरण दिन, योजना बनाउन, निर्माणमा समन्वय गर्न र त्यसको फलोअप गर्न स्थानीय जनप्रतिनिधिसँग आग्रह गरे ।
त्यस्तै, प्रभावित क्षेत्रमा आगामी मंसिरसम्म खानेपानी प्रणाली पुनर्स्थापना गर्ने गरी सरकारले काम गरिरहेको र स्वास्थ्य, शिक्षालगायतका पूर्वाधार निर्माणमा पनि सरकारले काम गरिरहेको उनले बताए । छलफलमा सहभागी प्रभावित क्षेत्र नुवाकोटका सांसदसमेत रहेका सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले विभिन्न गैरसरकारी संस्थाले बाढी प्रभावितलाई घर बनाइदिने, ज्येष्ठ नागरिक तथा बालबालिकालाई संरक्षण गरिदिनेजस्ता आश्वासन दिँदै हिँडिरहेको भन्दै उनीहरूले व्यवस्थापनसँगको समन्वयमा मात्रै काम गर्नुपर्ने बताए ।