भदौ २३ र २४ का घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन र कारवाही गर्न गगन थापाको माग

Janta Khabar Media House २१ भदौ २०८३

भदौ २३ र २४ का घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन र कारवाही गर्न गगन थापाको माग
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका हिंसा, दमन तथा सार्वजनिक संरचना ध्वंसका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। बीपी स्मृति दिवसका अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै थापाले दुवै दिनका घटनाको सत्य तथ्य सार्वजनिक नगरेसम्म राज्य जबाफदेही बन्न नसक्ने बताएका हुन्। उनले सरकारले प्रतिबद्धता जनाएअनुसार अनुसन्धान कहाँ पुग्यो भन्ने प्रश्नसमेत गरेका छन्। सभापति थापाले भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमा भएको राज्य दमन तथा आन्दोलनभित्र घुसपैठ गरी हिंसा भड्काउनेहरूको पहिचान गर्नुपर्ने बताए। उक्त घटनासम्बन्धी अध्ययनको पूर्ण प्रतिवेदन सार्वजनिक गरी दमन र हिंसामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ। थापाले भदौ २४ गते सिंहदरबार, अदालतलगायत सार्वजनिक संरचनामा भएको आगजनी र ध्वंसबारे समेत निष्पक्ष तथा गम्भीर अनुसन्धान आवश्यक रहेको बताए। त्यस दिन आफ्नो घरसमेत जलेको स्मरण गर्दै उनले व्यक्तिगत क्षतिभन्दा आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएका युवाको पीडा ठूलो रहेको उल्लेख गरे। नागरिकको आक्रोश र आवेगमा व्यक्त प्रतिक्रियालाई सङ्गठित अपराधसँग एउटै रूपमा हेर्न नहुने थापाको भनाइ छ। ‘आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ,’ उनले भने, ‘तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ, उसले माफी पाउनु हुँदैन। उसले दण्ड पाउनुपर्छ।’ उनले नागरिकको आवेगलाई प्रयोग गरी हिंसा र ध्वंस मच्चाउने व्यक्तिको पहिचान गरेर कारबाही गर्नुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0