भोटेकोशी बाढीपछि राष्ट्रपतिद्वारा राष्ट्रका नाममा सम्बोधन: राष्ट्रिय एकता र जलवायु न्यायका लागि आह्वान

Janta Khabar Media House १९ भदौ २०८३

भोटेकोशी बाढीपछि राष्ट्रपतिद्वारा राष्ट्रका नाममा सम्बोधन: राष्ट्रिय एकता र जलवायु न्यायका लागि आह्वान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गरेका छन् । भाद्र १० गते हिमनदीको बरफ र चट्टानसहित खसेको हिम पहिरोपछिको बाढीले पुर्‍याएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनले राष्ट्रका नाममा विशेष सम्बोधन गरेका हुन् । आफ्नो सम्बोधनमा राष्ट्रपति पौडेलले यस प्राकृतिक प्रकोपलाई ‘कहालीलाग्दो र अकल्पनीय’ संज्ञा दिएका छन् । बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति हुनुका साथै सडक, पुल र जलविद्युत् आयोजना जस्ता राष्ट्रका महत्त्वपूर्ण पूर्वाधारहरू ध्वस्त भएकोमा उहाँले गम्भीर चिन्ता प्रकट गरे । राष्ट्रपति पौडेलले विपत्तिमा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । नेपालले आफ्नो भूमिमा रहेका हरेक विदेशी नागरिकलाई परिवारको सदस्य सरह मान्ने उल्लेख गर्दै उनले प्रभावित देशका सरकार तथा कूटनीतिक नियोगहरूसँग प्रभावकारी समन्वय भइरहेको जानकारी दिए । जोखिमपूर्ण अवस्थामा ज्यानको प्रवाह नगरी उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय प्रतिनिधि र स्वयंसेवकहरूको उच्च प्रशंसा गर्दै राष्ट्रपतिले उनीहरूको कार्यलाई नेपाली राष्ट्रिय चरित्रको उत्कृष्ट नमुनाका रूपमा चित्रण गरे । भौगोलिक विकटता र प्रतिकूल मौसमका बाबजुद खोजी कार्यलाई निरन्तरता दिन र कुनै पनि अवस्थामा उद्धार कार्य परित्याग नगर्न उहाँले सम्बद्ध निकायको ध्यानाकर्षण गराए । उद्धार गरिएका नागरिकका लागि स्वच्छ खानेपानी, खाद्यान्न, औषधि र सुरक्षित आश्रय स्थलको सुनिश्चितता गर्न राष्ट्रपतिले जोड दिए। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलाहरूको संरक्षणमा संवेदनशील हुन उनले आग्रह गरे। मृतकहरूको पहिचानका लागि डिएनए नमुना संकलन र वैज्ञानिक अभिलेखीकरण गरी प्रक्रियालाई विश्वसनीय बनाउन सरकारलाई सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0