छैटौँ दिन पनि त्रिशूली-थ्री ‘ए’का कर्मचारीको उद्धार हुन सकेन
Janta Khabar Media House१३ भदौ २०८३
काठमाडौँ । बाढीपछि त्रिशूली-थ्री ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत विद्युत् गृहमा रहेका कर्मचारीको छैटौँ दिनसम्म पनि उद्धार हुन सकेको छैन।
उद्धार टोलीले आइतबार आयोजनाको ‘केबल एक्सेस टनेल’ पत्ता लगाए पनि सुरुङभित्र पानी र लेदो भरिएका कारण सोमबारसम्म विद्युत् गृहमा प्रवेश गर्न नसकेको हो।
नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीका अनुसार हाल काम भइरहेको स्थानबाट करिब १८३ मिटरभित्र आयोजनाको भूमिगत विद्युत् गृह छ। कर्मचारी जीवित रहेको अवस्थामा सोही क्षेत्रमा भेटिन सक्ने सम्भावनालाई ध्यानमा राखेर त्यहाँसम्म पुग्ने प्रयास भइरहेको छ।
सुरुङ खन्ने क्रममा भित्रबाट सिपेज भएको पानीसँगै लेदोसमेत बाहिर आइरहेकाले प्रवेशका लागि सुरुङको भित्ता थप काट्नुपर्ने अवस्था आएको छ।
भूमिगत विद्युत् गृहमा सामान्य अवस्थामा सिपेज भएर जम्मा हुने पानी मोटरमार्फत बाहिर निकाल्ने व्यवस्था हुन्छ। तर बाढीपछि विद्युत् उत्पादन बन्द हुँदा उक्त प्रणाली प्रभावित भएको र पानी जम्मा भएको बताइएको छ।
उद्धारको प्रारम्भिक चरणमा आवश्यक उपकरण र जनशक्ति घटनास्थलसम्म पुर्याउन कठिनाइ भएको थियो। नजिकै रहेका दुई एक्साभेटर मर्मत गरेर काम सुरु गरिएकोमा सोमबार नेपाली सेनाको टोलीले थप एउटा एक्साभेटर घटनास्थलमा पुर्याएको छ। आवश्यक अन्य उपकरण पनि क्रमश: पुर्याइएको छ।
तीन दिनसम्म लगातार खोज तथा उद्धारमा खटिएको टोलीले आइतबार केबल एक्सेस टनेल फेला पारेको थियो। सोही सुरुङबाट विद्युत् जडान गर्ने तथा भित्र रहेका व्यक्तिबाट कुनै संकेत प्राप्त हुन्छ कि भनेर प्रयास गरिए पनि अहिलेसम्म कुनै संकेत प्राप्त भएको छैन।