नेत्र ज्योति संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग

Janta Khabar Media House २२ भदौ २०८३

नेत्र ज्योति संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  एक करोड ४१ लाख भन्दा बढी सहयोग
काठमाडौँ । नेपाल नेत्र ज्योति संघले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई संघका महासचिव भरतबहादुर चन्दले उक्त रकमको ‘चेक’ तथा ‘भउचर’ बुधबार हस्तान्तरण गरे । गैरनाफामुखी सो सामाजिक संस्थाको सञ्जालभित्रका अस्पताल, आँखा उपचार केन्द्र तथा जिल्ला शाखालगायत संस्थागत स्रोतबाट रु. ९९ लाख ७४ हजार ५०६ र कर्मचारी तथा स्वयंसेवकबाट रु. ४१ लाख ६६ हजार ६३५ संकलन गरिएको थियो । यही भदौ १० गते भोटेकोशीमा गएको बाढीले रसुवा, नुवाकोट र धादिङमा मानवीय तथा भौतिक क्षति भएको थियो । बाढी प्रभावित नागरिकको दैनिक जीवन, स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर परेको परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारद्वारा आह्वान गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णयअनुसार उक्त रकम संकलन गरिएको संघले जनाएको छ । संघअन्तर्गत सञ्चालित विभिन्न अस्पताल तथा आँखा उपचार केन्द्र, जिल्ला शाखा, समाजसेवी, शुभेच्छुक तथा कर्मचारीबाट प्राप्त व्यक्तिगत सहयोगसमेत एकीकृत गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको नेपाल नेत्र ज्योति संघले जनाएको छ । संघले आर्थिक सहयोगसँगै विपद् प्रभावित नागरिकको स्वास्थ्य आवश्यकतालाई प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रमा नि:शुल्क आँखा उपचार सेवा उपलब्ध गराइरहेको छ । विपद्का कारण स्वास्थ्य सेवाबाट वञ्चित हुन पुगेका नागरिकलाई आवश्यक आँखा परीक्षण, उपचार तथा परामर्शलगायतका सेवा उपलब्ध गराउने कार्यलाई संघले निरन्तरता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0