भोटेकोशी बाढी: ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख राहत पाउने

Janta Khabar Media House २२ भदौ २०८३

भोटेकोशी बाढी: ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख राहत पाउने
रूपन्देही । भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले रु. २५ लाख १० हजार बराबरको राहत तथा सुविधा पाउने भएका छन् । नेपाल प्रहरीका अनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई कल्याण कोषबाट रु. तीन लाख, किरिया खर्चबापत रु. ४० हजार, राष्ट्रिय वाणिज्य बैंकबाट रु. पाँच लाखको बीमा, राष्ट्रिय बीमा संस्थानबाट रु. दुई लाख तथा नेपाल प्रहरी संगठनबाट विशेष राहत स्वरूप रु. १० लाख उपलब्ध हुनेछ । त्यस्तै, कर्मचारी सञ्चय कोषबाट दुर्घटना क्षतिपूर्तिबापत रु. दुई लाख र किरिया खर्च रु. ४० हजार उपलब्ध हुने व्यवस्था छ । नागरिक लगानी कोषका स्वैच्छिक बचतकर्ताले प्रचलित सर्तअनुसार दुर्घटना बीमाबापत रु. दुई लाख र किरिया खर्चबापत रु. ३० हजार पाउनेछन् । यसरी मृतक प्रहरी कर्मचारीका परिवारले सम्बन्धित कोष तथा बीमा सुविधासहित रु. २५ लाख १० हजारसम्म प्राप्त गर्ने नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । महानिरीक्षक कार्कीले प्रभावित प्रहरी परिवारको जीविकोपार्जनमा सहयोग गर्नाका साथै मृतक तथा प्रभावित प्रहरी कर्मचारीका छोराछोरीको शिक्षामा आवश्यक व्यवस्था मिलाउने बताएका छन् । नेपाल प्रहरी कल्याण कोषबाट लिइएका ऋणसम्बन्धी सुविधामा आवश्यकताअनुसार सहुलियत तथा मिनाहाको व्यवस्था गरिने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई संगठन, कल्याण कोष तथा सम्बन्धित बीमा र सामाजिक सुरक्षा निकायबाट प्राप्त हुने सुविधालाई समन्वय गरी उपलब्ध गराइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0